आफू पढ्न बुझ्न जान्न सिक्न आएको ठाउँमा केही कुरा सिकाउन पाउँदाको एक भिन्नै मजा हुने रहेछ। मादागास्करमा यो मेरो तेस्रो भ्रमण हो। गत नोभेम्वरको एक-महिने भ्रमण यहाँको रीतिरिवाज, लवाई-खवाई, चाल-चलन र यहाँका सहकर्मीहरूलाई चिन्दैमा बितेको थियो। यस बर्षको फेब्रुअरी-मार्चको दुई-महिने भ्रमणमा कामको सिलसिलामा धेरै ठाउँहरु पुग्न र देख्न पाहियो। यहाँको बर्खे मौसम भएकाले त्यतिखेका मौसमी खानेकुराहरू मध्य मलाई सबैभन्दा मन पर्ने पोलेको मकै खाने प्रशस्तै अवसर पनि मिल्यो। तर यहाँ भने नेपालमा जस्तो हरियो खोस्टाभित्र पहिले पिल्स्याएर मकै पोल्ने चलन रहेनछ। आफूलाई भने त्यसरी पोलेको मकै ज्यादा मन पर्ने। मैले नि यहाँका मानिसलाई मकै पोल्ने नेपाली तरीका सिकाउनु पर्यो भनेर आफैंले मकै पोलेर देखाएँ।
खुशीको कुरा चाँहि मैले त्यसरी पोलेको मकै हामी बसेको घरका मानिसहरूले मन पराएर खानुका साथै भोलिपल्ट देखि उनीहरूले नि त्यसैगरी मकै पोलेर खाए अनि खुवाए! यहाँ आएर केही कुरा त सिकाउन सकिने रैछ झैं लाग्यो, खालि मकै पोल्न नै किन नहोस्।
And to my great relief, they liked the result! #Madagascar #2/2 pic.twitter.com/IRuuAzfFkf
— mahesh poudyal महेश पौड्याल (@ 🏡) (@mpoudyal) May 16, 2014
यस पटकको भ्रमण जुनको अन्तिम हप्तामा सुरु भयो। अहिले यहाँ जाडोको मौसम हो, त्यसैले नेपालमा झैं सुन्तला, भोगटे आदि प्रशस्तै पाइने रहेछ। गएको हप्ता कामको सिलसिलामा गाउँ जाँदा बाटोमा रहरलाग्दा भोगटेहरू बेच्नराखेको देखें, अनि अचानक नेपालको हिउँदमा घाममा बसेर भोगटे साँदेर खाएको याद आयो। यस देशमा रस बनाएर पिउने बाहेक कसरी भोगटे खान्छन् मलाई थाहा थिएन र अझै छैन पनि। मलाई भने गाउँमै भएनि भोगटे साँदेर खानुपर्ला जस्तो लाग्यो, अनि चार गोटा भोगटे अनि एक किलो सुन्तला किनेर गाउँ लगें।

गाउँ पुग्नको हतारमा चाहिने अन्य सामाग्रीको त्यति होश भएन, तैपनि मह त पक्कै पाइएला जस्तो लाग्यो, तिलको ठाउँमा भुटेको बदाम पिसेर हाले भैगयो। त्यही साँझ गाउँ लगेर नेपालमा झैं भोगटे साँदेर खुवाएं यहाँका आफ्नो अनुसन्धान टोलीका सदस्यहरूलाई। मह पाइएन, चिनी हालेँ, अनि भुटेको बदाम पिंधेर हालें तिलको ठाउँमा। सुरुमा त उनीहरू अलि हिच्किचाएर हेरिरहेका थिए मैले भोगटे साँदेको - उनीहरूले पहिलोचोटी देख्दैथिए भोगटे खाने यो तरीका - तर तयार पारेर खुवाए पछि भने निकै मीठो मानेर खाए। चार भोगटे र एक किलो सुन्तला हालेर बनाएको कुरो एकैछिनमा सकाए। मलाई नि बर्षौं पछि यसरी साँदेको भोगटे खान अनि खुवाउन पाउँदा निकै रमाईलो लाग्यो।

अस्ति शुक्रवार गाउँबाट फर्कंदा फेरि केही भोगटे किनेर ल्याएँ, सप्तान्तमा साँदेर खान भनी। हिजो फेरि भोगटे साँदेर खाइयो र आफू बसेको होटलधनीलाई नि खुवाइयो। उनीहरूले नि भोगटे खाने नेपाली तरीका निकै मन पराए र बनाउने तरीका बेलिबिस्तार गर्न लगाए - बाँकी रहेका केही भोगटेहरू उनीहरूले नै साँद्छन् कि! म भने यहाँका मानिसलाई अर्को नौलो कुरो सिकाउन पाएको मैं दंग छु।